अंग्रेजी भाषामा एउटा भनाइ छ, ‘एन एप्पल अ डे, किप्स द डक्टर अबे’ अर्थात् दैनिक एउटा स्याउको सेवनले, हामीलाई स्वस्थ बनाएर डाक्टरलाई भेट्नै नपर्ने बनाउँछ । वास्तवमा दैनिक एउटा स्याउको सेवन हाम्रो स्वास्थ्यको लागि अत्यन्त लाभदायक छ । स्वादमा स्वादिलो, रसमा रसिलो, हेर्दा आकर्षक र मनमोहक देखिने र बाह्रैमास बजारमा उपलब्ध भइरहने यस सदाबहार फलको सात हजार भन्दा ज्यादा प्रकार छन् । विश्व बजारमा फलको राजा भनेर कहलिएकोे स्याउको वैश्विक उत्पादन झण्डै ९० अरब किलोको आसपास छ । संसारभरी नै लोकप्रिय मानिएको यस फलका अनेकै स्वास्थ्य लाभहरू छन् जसमध्ये केहीलाई हामीले पनि जानौं ।
१) उच्च पोषकताः स्याउलाई उच्च पोषक घनत्व भएको खानेकुरा मानिएको छ । १०० ग्राम काटिएको स्याउमा ५२ किलो क्यालोरी ऊर्जा, ८६५ पानी, १२ ग्राम कार्बौहाइड्रेट, २.५ ग्राम रूक्षांश, ०.१७ ग्राम चिल्लो पदार्थ, ०.२६ प्रोटिन, दैनिक आवश्यकताको ६ प्रतिशत भिटमिन सी, २ प्रतिशत भिटमिन के, ३ प्रतिशत तामा, ३ प्रतिशत पोटासियम र २ देखि ५ प्रतिशत ई र भिटमिन बी पाइन्छ । यसका अलावा थुपै्र एण्टिअक्सीडेण्ट र फाइटोकेमिकलहरू पनि पाइन्छ जसले हामीलाई धेरै प्रकारका रोगहरूबाट बचाउने गर्दछ ।
२) तौल कम गर्न मद्दत गर्दछः तौल कम गर्नको लागि पानी र रूक्षांश धेरै र कार्बोहाइड्रेटस, चिल्लो र फ्याट कम भएको खानेकुरा खानु पर्दछ । पोषक मूल्यदृष्टिले स्याउमा ८६ प्रतिशत पानी हुन्छ भने र २.४ ग्राम रूक्षांश र ११.६ प्रतिशत अन्य पोषक तत्वहरू विद्यमान रहेका छन् । पानी र रूक्षांश धेरै भएको खानेकुरा खाँदा चाँडै क्षुधा शान्त हुने र अत्याधिक सन्तुष्टि प्राप्त हुने गर्दछ । यसै गरी स्याउमा पाइने पोलिफिनोलमा तौल कम गर्ने गुण पाइएको छ ।
३) कोलेस्टोरोल कम गर्दछः मुटु तथा रक्तनलीको रोग लगाउन सक्ने खराब कोलेस्टेरोललाई कम गर्न स्याउमा प्रशस्त मात्रामा भिटमिन, मिनरल, घुलनसिल फाइबरहरू र पोलिफिनोल पाइन्छ । यी तत्वहरूले एलडिएल कोलेस्टेरोलको अक्सिडेसन कम गर्ने, रक्तचाप घटाउने, अथेरोस्क्लेरासिस कम गर्ने र रक्तनलीको इन्फ्लामेसन कम गर्न विशेष भूमिका खेल्दछ । स्याउको सेवनले कलेजोलाई पनि डिटक्स गरिदिने हुँदा खराब कोलेस्टेरोलको उत्पादनमा लगाम लगाउँछ । तर कोलेस्टेरोक कम गर्न एउटा मात्र स्याउ खाएर पुग्दैन २÷३ वटा खानु पर्दछ ।
४) रक्तचाप कम गर्दछः स्याउलाई उच्च रक्तचाप कमगर्ने फलफूलका रूपमा पनि बुझिने गरेको छ । दैनिक २ वटा स्याउको सेवनले रक्तचाप घटाउन विशेष भूमिका हुने गर्दछ । स्याउमा पाइने इपिकेटाचिन भन्ने पोलीफिनोलको रक्तचाप घटाउने विशेष गुण देखिएको छ । यसैगरी स्याउमा प्रशस्त मात्रामा घुलनशील फाइबर, भिटामिन र एण्टिअक्सिडेण्ट आदि पनि पाइने हुँदा यसले रक्तचाप घटाउन विशेष भूमिका खेल्दछ ।
५) मधुमेहको लागि राम्रोः स्याउको सेवन मधुमेहको लागि पनि अत्यन्त उपयोगी छ । स्याउको सेवनले मधुमेह हुने जोखिम न्यूनीकरण गर्दछ भने भएकाहरूको रक्त ग्लूकोज कम गर्न विशेष भूमिका खेल्दछ । स्याउमा पाइने कर्सेटिन र फ्लोरीद्जीन जस्ता पोलिफिनोलहरूले इन्सुलिन प्रतिरोधकता कम गर्न भूमिका खेल्दछ ।
६) पेटको लागि राम्रोः स्याउको सेवनले अपच, अजिर्ण, अम्लपित्त, ग्यास्ट्राइटिस, कब्जियत, पाइल्स, फिस्टुला, फिसर जस्ता समस्यालाई अत्यन्त लाभ पुर्याउँछ । स्याउमा पाइने पेक्टिनले पेटका ब्याक्टिेरियाहरूलाई पोषण गर्ने हुँदा पेटको स्वास्थ्य राम्रो हुन्छ । पेटका ब्याक्टेरियाको स्वास्थ्य राम्रो भए तौल घट्ने, मुटुरोग, मधुमेह क्यान्सर आदिको जोखिम न्यून हुने आदि तथ्य अनुशंधानले पत्ता लगाएका छन् । यसैगरी मूलतः क्षारीय फल भएकाले स्याउले अपच, अजिर्ण, अम्लपित्त पनि कम गर्दछ ।
७) क्यान्सरको रोकथाम गर्न सहयोगीः स्याउमा पाइने एण्टिअक्सिडेण्टले धेरै प्रकारका क्यान्सर हुने जोखिमलाई न्यूनीकरण गर्दछ । स्याउको पोलिफिनोलले क्यान्सर कोषको गुणनशीलतालाई रोक्दछ भने उच्च फाइबरले क्यान्सर कोषको वृद्धिलाई रोक्नुका साथै तिनीहरूलाई मार्न पनि मद्दत गर्दछ ।
८) दमका लागि राम्रोः स्याउको सेवन दमको लागि पनि राम्रो छ । विशेषगरी अक्सिडेटिभ स्ट्रेसका कारणले हुने रोगहरूमा यो फलले राम्रो परिणाम दिएको छ। शरीरमा अक्सिडेटिभ स्ट्रेस हुँदा धेरै मात्रामा फ्री रेडिकल्स उत्पादन हुने हुँदा यी तत्वहरूले एलर्जी गराएर दमको समस्या देखिन्छ । स्याउमा पाइने कर्सेटिन र प्रोएन्थोसाइनेडिन जस्ता एण्टिअक्सिडेण्टले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने, इन्फ्लामेसन कम गर्ने, एलर्जी कम गर्ने हुँदा दम र पिनास जस्ता समस्याका लागि राम्रो मानिएको छ ।
९) मस्तिष्कका लागि राम्रोः स्याउ मस्तिष्कको लागि पनि राम्रो फल हो । स्याउमा पाइने एण्टिअक्सिडेण्ट र फाइबरले स्नायू कोषहरूको क्षय हुन दिदैन ।
१०) प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछः स्याउमा प्रशस्त मात्रामा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने भिटमिन ए, डी, सी, ई, बी–६, बी–१२, फोलिक एसिड, जिंक, फलाम, तामा र सेलेनियम आदि पाइने हुँदा यसको सेवनले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत बनाउँछ। यसैगरी स्याउमा पाइने फाइबरले इन्फ्लामेसन सम्भावित कोषलाई इन्फ्लामेसन प्रतिरोधी पनि बनाइदिन्छ ।

